मिर्मिरेमै आज सोल्टी उठेछ । म सुतेकै ठाउँमा आएर मलाई बिउझायो।यस्तो जाडोमा सबेरै उठाई दिएकोमा एकचोटी झनक्क रिस उठ्यो। कति बजेछ भनि मोबाइलको घडी हेरें ६:३७ भएको रहेछ(आजकाल आफ्नो नाकै आगाडीको भित्ते घडी बिरानो भा’को छ ,नजर सम्म पनि तान्न सकेको छैन त्यसले बिचरा) मोबाइलको घडीले भन्दा नोटिफिकेसनले पहिला ध्यान् तान्यो । हेर्दा ..... reply "जंगल तिर हारको " भन्ने म्यासेज देखियो ।कुरो बुज्न गारो भएन त्यो म्यासेज हिजो आफैले पठाएको "Where lost " को रिप्लाई थियो ।
हिजो कति खेर म्यासेज गर्ली भनेर कुर्दै बस्दा भुसुक्कै निदाएको सम्झेर एक्लै हासें । जिन्दगिमा धरै कुरियो कहिले के त कहिले के , अहिले चाही म्यासेज अनि त्यहि कुराई कै सन्धर्भमा केही लेखु भनि कलम कापी समाएर लेख्न्न बस्दा फेरी अन्तै कतै हराएँ ।
धरै पहिलाको कुरो हो सायद ०५४-०५५ साल तिरको हुँदो हो,म सानो हुदाको। म ६-७ बर्षको थिएँ । हाम्रो घरमा भैसी ब्याउने बेला थियो । गाउकै मेरा एकजना ठुलोबुबा मलाई भैसी ब्याएपछि "अम्रो" चाही मलाई है भन्दै जिस्काउनु हुन्थो । जहाँ भेटे पनि जसको आगाडी जतिखेर भेटे पनि "यो नसे कम लोभी छ,दुध,बेगुती दुध त मागिन मागिन म बुढो मान्छे दातं छैन,हड्डी भएको मासु खान सक्दिन "अम्रो"चाहिं दे है भनेको त्यै पनि दिन्छु भन्दैन " भन्दै जिस्काई हाल्नु हुन्थो । उहाले सारै गरे पछि सारै जिस्काएपछि मैले त्यो अम्रो बुढालाई खुहाएरै छाड्ने निधो गरे ।
अब सुरु भयो मेरो प्रतीक्षा , कुन दिन भैसी ब्याउला र बुढाको घरमा लगेर लौ खाउ बुढा भन्दै फ्याकौला भन्ने कुराले सताउन थाल्यो।जब भैसी ब्याउने दिन्न नजिक आउथे ,म स्कुल पनि जान सकिन;"भैसी ब्याउला अनि अम्रो आमाले अन्तै फालीदिनुहोला भन्ने डरले।" ति दिनहरुमा लाग्थ्यो त्यो भन्दा ठुलो प्रतीक्षा जिन्दगिमा फेरी कहिल्यै गर्नु पर्ने छैन । एक दिन भैसी ब्यायो।पाडी पायो; हेर्दैमा बोकु बोकु लाग्ने तर भैसी ब्याएको खुशी ,बेगुती खान पाउने खुशी, भन्दा पनि मलाई अर्कै खुशी ठुलो लाग्यो । ठुलो बुबालाई अम्रो खुवाउन पाउने खुशी ।
भैसी पनि ब्यायो ।आमाले भैसी दुहुनु भयो ।सानो पाडीले दुध खायो,आमा बेगुती दुध पाकाउन थाल्नुभयो।म भने भैसीको पछाडी बसेर साल-नाल कतिखेर खस्ला र लगेर बुझाउला भन्दै कुरें।त्यतिखेर महिनौदेखि भैसी ब्याउने दिन कुरे भन्दा लामो कुरे झैँ लाग्यो भैसी ब्याए पछि अम्रो खस्ने समय कुरेको। न भन्दै तिन घण्टा पछि साल नाल खस्यो त्यो कुराईको बिचमा हतारले कति चोटी पिसाब फेरे गिन्ती छैन ।
त्यो दिन भन्दा अघि पनि मैले धेरै प्रतीक्षा गरे होला, मलाई खासै याद छैन।
आमा घास काट्न जानुहुन्थो बाबा खेतमा काम गर्न; म एक्लै बोराको झोलुङ्गो भित्र बसी घर कुरेर बितेको मेरो बल्यकालमा त्यस्ता अनगिन्ति प्रतीक्षा थिए होलान ! कहिले थिए होलान आमाको प्रतीक्षा, कहिले आई दुध चुसाउलिन भन्ने प्रतीक्षा त कहिले दिन रात काम ले थकेको आमाको सुकेको दुधको मुन्टो चुस्दै त्यसबाट कहिले दुध आउला भन्ने प्रतीक्षा त कहिले भोक लाग्दा हजुरआमा र सानोबुवा को घरमा खाजा, खाना, मिठो-मसिनो पाक्दा कहिले उनिहरु खालन र बचेँको खान बोलाउलान भन्ने प्रतीक्षा का त कुरै बाँकी रहलन् !
एक जोर लुगा फेर्न दशै को प्रतीक्षा, मासु खान कालीकाको पूजा र दशै को प्रतीक्षा; अनि तिनै पूजा र दशै पनि नपाउदा गाउमा बाघले बाख्रा मर्ने प्रतीक्षा, देखी आजयौवन कालमा प्रियासीको म्यासेजको प्रतीक्षा सम्म आइपुग्दा मैले बुजेको मानव स्वभाब '' जती बेला जुन आइ पर्छ त्यही प्रतीक्षा ठुलो '' भन्ने बुझे !
पुराना घाउहरु जतिनै ठुलो र दर्दनाक भए पनि साना र ताजा घाउहरुकै पिडाले बढी पोल्ने मानव स्वभाब रहेछ।