Friday, February 5, 2016

खित्का छाडी छाडी

म हुनुमा मलाई गर्व छ भने तिमिलाइ के को खस् खस् ? ए समाज म तिमिलाइ देखेर दिक्क भए । तिमी त वन्चरो जस्तो रै छौ ,म मुढो ताक्दा तिमी त मेरै घुँडो ताक्ने रै छौ । म पनि त तिम्रै अंश हुँ। त्यै सोचोर तिमीलाई सपार्न चाहे तिमी त मेरै खोइरो खन्दै विगार्न लागी परिरहेछौ । म सवै जना खुसी होउन भन्छु तिमी मेरै खुसी खोस्न उद्दत छौ के तिमीलाइ म हाँसेको भन्दा रोएको मन पर्ने हो र ? हुन त तिमीले मलाइ कहिले पो खुलेर हाँस्न दियौ र ? साँच्ची एक फेर भन त, म दिल खोलेर हाँस्दा कस्तो देखिन्छु, देखेका छौ ?

अत्ती भए पछि त गुण पनि तितो हुन्छ भनेर तिमीले नै भनेका होइनौ? आज म तिम्रो स्वादमा त्यै तितोपन महसुस गर्न थालेको छु । दिल खोेर हाँस्न त दिएनौ दिएनौ केही पलको खुसी त दिनु । ल भैगो, खुसी त दिन सकेनौ सकेनौ दुख त नदिनु । अझ नभएर दुख माथी आँशु थपेर पठायौ र पनि गुनासो राखीन । तिमीले त मेरो भागमा खुसी पारेनौ पारेनौ ठिकै थियो,के म अव आफैमा रमाउन पनि नपाउनु ? तिमीले नदिएको खुसी खोस्ने हक चाँही कसले दियो  तिमीलाई नै फेरी ?  तिमीले त न घरकै वनायौ न घाटकै । वनायौ त वस् ढाँडखोलाको वतासे मसान ।

अव त तिमीलाइ सम्वोधन पनि के भनेर गरु, सम्मानका शब्द तिम्रा नाउमा निकाल्नै मन लाग्दैन घ्रिणाको शब्द आँफैलाइ आउँदैन । यस्तो दोधारमा पार्यो कि २ रुपैयाँको टोपाज ब्लेड तिम्रा अगाडी भुत्ते भो । तिमी त वेमौसमको हुरी भन्दा पनि वैगुनी निस्क्यौ । आँफै धोती तानेर आँफै दुइ वित्ताको दाह्रा देखाएर हाँस्छौ । तिमी अवुझ हौ की वेसरम छुटउनै सकिन । हे समाज तिमी अवुझ भने त ठिकै छ कुनै दिन वुझौला सिकौला तर तिमी वेसरम रै छौ भने त म सधैँ यसैगरी हाँसेको पात्र भै रहन सत्तिन । एक दिन तिम्रै धोती तानीने छ अनी म हाँस्ने छु मज्जाले खित्का छाडी छाडी ।

No comments:

Post a Comment