Monday, April 4, 2016

म फेरिएँ

म खोज्छु आफैलाइ
अहँ देख्दिन कतै, छोपिएँकी, हराएँकी,खै

उहि सपनिमा देख्ने फुच्चेकै छुनुमुनु देख्छु जताततै
खट्टे भट्टको पोल्टो समाइ बाख्राको पछिपछि
मुनिमुनि छ्या गर्दै
खालि खुट्टा बाँसको सिम्काने वोकि गोठालो दौडेको
कति खुशि छ उ आहा

क्यामु गाईले दुख दिँदा आँखा बाट खसेका
अबोधपनका निशानी ती मोति दाना
कति निर्मल कति कनंचन
उ खुशिमा बुर्कुसि मार्दा बेलका काँडा पनि बिछ्यौना झैँ
सतरंग हुन्थे

अमरा, लिची, छिमेकीका अमलाहरु
उसैलाइ गिज्याउथे
छिमेकीका अमलाले पोल्टो भरीन नपाउदै छिमेकीदाइको
हात गालामा बज्रिदा कोक्किइ कोक्किइ रुने उ
आँशु सुक्न नपाउदै अमलाका फेदमा पुग्ने
उसको बालबपन

हो म साँच्चै हराएछु , भेट्दिन कतै आफूलाई
आक्कल झुक्कल एना हेर्दा
तिनै आँखा देख्छु तिनै ओठ देख्छु, तिनै नाक देख्छु
तर खै त्यो मुस्कान् , खै त्यो खुशि

फेरिएछु क्यारे म, कि फेरियो मेरो गाँउ
देख्दिन त्यो गोठ, देख्दिन त्यो गाई,
ढलेछ क्यारे अमराको रुख, लडेछ क्यारे अमलाको बोट
मकै पनि अचेल हाँस्न छाडे रे
बेल अमरा पाक्न छाडे रे
उसैलाई सम्झदा हुन हाँस्नु अघि, पाक्नु अघि
न म उ नै रहन सकेँ,
न मेरो गाँउ उस्तै रह्यो

म फेरिएँ, हो साँच्चि म फेरिएँ

No comments:

Post a Comment